मंगलबार, असार १७, २०८२

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री

नेपालखोज २०८२ असार १७ गते १७:२८

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायले न्यून स्रोत साधनका भरमा काम गरिररहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि राष्ट्रियसभाका सदस्यहरुले गरेकाे प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सुरक्षा निकायहरुको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा जवाफ दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले न्यून स्रोत र साधनमा काम गरिरहेको उल्लेख गरे ।

‘हामीले आर्थिक वर्ष २०८२/८३ का लागि उपलब्ध बजेटको सीमाभित्र रहेर केही पूर्वाधार विकासका लागि प्रस्ताव गरेका छौँ, साथै यी निकायहरुको पूर्वाधार विकासमा तीनवटै तहको लागत साझेदारीमा पूर्वाधार निर्माण गर्नेगरी ४० करोड रूपैयाँ विनियोजन गरिएको छ,’ उनले भने ।

देशभरबाट अस्थायी प्रहरी चौकी राख्ने, अस्थायीलाई स्थायी गर्ने, स्थायीलाई स्तरोन्नति गर्ने, इलाका प्रशासनहरु राख्नुपर्नेलगायत माग आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले यी कार्यहरु मन्त्रालयको प्राथमिकताका विषय भएको बताए ।

गृहमन्त्री लेखकले प्रत्येक स्थानीय तहमा विपद् सामग्री भण्डारण गर्ने गरी गोदाम घरको अवधारणालाई अगाडि बढाएको बताए । यसका लागि आवश्यक विपद् सामग्री व्यवस्थापन गर्न प्रदेश सरकार र स्थानीय तहबाट पनि सहयोग हुने व्यवस्था मिलाइएको उनले बताए ।

प्रतिक्रिया