बैतडीमा एसईई नतिजामा सुधार

बैतडी । बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार आएको छ । गत वर्ष जिल्लाभरि १८ ओटा विद्यालयको नतिजा शून्य आएकामा यो वर्ष भने नतिजामा सुधार आएको छ ।
विसं २०८० को माध्यमिक शिक्षा परीक्षा (एसई) मा बैतडीमा ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष बैतडीबाट एसइईमा सहभागी भएका विद्यार्थीमध्ये ५२ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैबीच एसइईमा सहभागी भएका १२८ सामुदायिक र पाँच वटा संस्थागत विद्यालयमध्ये चार वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए ।
पुर्चौंडी नगरपालिकाको महादेव मावि त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय मावि कफाडी र शिवपूर्ण माविको नतिना शून्य आएको छ ।
यस्तै दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत मावि नगतडीको नतिजा शून्य आएको छ । सरस्वती संस्कृत माविको नतिजा गत वर्षसमेत शून्य आएको थियो ।
गत चैतमा सञ्चालन भएको एसइईमा चार हजार ३०७ जना परीक्षार्थीमध्ये चार हजार २१८ जना सहभागी भएका थिए । परीक्षा फारम भरेका ८९ जना परीक्षामा अनुपस्थित रहेका थिए ।
परीक्षामा सहभागी भएकामध्ये दुई हजार २०६ जना उत्तीर्ण भएका छन् भने दुई हजार १२ जना ननग्रेड अर्थात् अनुत्तीर्ण भएका छन् । -रासस
प्रतिक्रिया