मनाङमा ‘यार्तुङ’

मनाङ । ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला मनाङमा ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । सोमबारदेखि पर्व सुरु भएको हो । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् भन्ने कामना तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउनका लागि पर्व मनाउने गरिएको हो ।
माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यो पर्व मनाउने गरिन्छ । यहाँ पाँच दिनसम्म पर्व मनाउने चलन छ । ट्याङ्की, मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ट्याङ्की मनाङ पर्यटन व्यवस्थापन उपसमितिको समन्वयमा यार्तुङ पर्व मनाइँदै आइएको छ ।
पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले विशेषगरी लामा नाचेर पर्व मनाउने गरिएको बताए । विगतमा जिल्लाभरि मनाइने पर्व बसाइँसराइले गर्दा हाल माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले सुनाए । यस पर्वलाई पाँच दिनसम्म उत्साहपूर्वक मनाउने प्रचलन रहेको स्थानीय बताउँछन् ।
वर्षायाममा रोगव्याधिबाट जोगाउनु नै यस पर्वको महत्त्व तथा विशेषता हो । जानकारहरूका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउनसमेत टेवा पुगेको छ । पर्वको माध्यमबाट गाउँ, समाज र व्यक्ति–व्यक्तिबीच एकापसमा सामाजिक सद्भावको विकास भइरहेको अध्यक्ष गुरुङसमेत स्वीकारछन् ।
यस पर्वप्रति विदेशी तथा स्वदेशीमा आकर्षण बढ्दो भए पनि स्थानीय युवाको सहभागिता कम हुँदै गएको स्थानीय ज्येष्ठ व्यक्तित्व सगर गुरुङको भनाइ छ । युवा विदेशिनु, अध्ययन, जागिरलगायत कारणले गाउँ छोड्नुजस्ता कारणले सहभागिता घटेको उनको बुझाइ छ ।
धेरै ठाउँमा सडक नपुगेकाले अझै पनि घोडा यहाँको प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो । जिल्लाको नार्पाभूमि गाउँपालिकामा सडक पुगेको छैन, यहाँ घोडा अझै पनि उत्तिकै महत्वपूर्ण छ । सडक पुगेका स्थानमा भने यसको प्रयोग घट्दै गएको छ । ती क्षेत्रमा घोडा पाल्ने चलन पनि कम हुँदै गएको छ ।
समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गतको ९४५१६ मिटर० थोराङ्ला भञ्ज्याङ यात्रामा पर्यटकको सहजताका लागि घोडाकै प्रयोग गरिन्छ ।
यहाँ घाँस-दाउरा, लेकबाट जडीबुटी सङ्कलन, खाद्यान्न तथा औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजानसमेत घोडाको प्रयोग हुँदै आएको गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाको भनाइ छ । सडक पुगेका क्षेत्रमा घोडा पाल्ने प्रचलन घट्दै गए पनि सडक सञ्जालले छुन नसकेका स्थानमा पुग्न घोडाले नै सहयोग पु¥याउँदै आएको उनले सुनाए । मनाङमा आलु, फापर, जौ, करु, कोदो, बोडीलगायत बाली बढी लगाइने गरिन्छ । -रासस
प्रतिक्रिया