प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् ।
आज शीतल निवासमा राष्ट्रपति पौडेल र प्रदेश प्रमुखहरूबीच भएको भेटर्वार्तामा उनले लोकतन्त्रलाई सफल बनाउन प्रदेश सफल हुनुपर्ने धारणा राखे ।
‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था सुदृढ हुन्छ, संविधानको सम्पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्घीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाट संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ,’ राष्ट्रपति पौडेलले भने ।
प्रदेश प्रमुखहरू प्रदेशको प्रमुखका साथै केन्द्रको प्रतिनिधि पनि भएकाले सङ्घ र प्रदेशबीचको समन्वयकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले प्रदेश प्रमुखहरू सङ्घीयताको सेतुका रूपमा रहेका उल्लेख गरे । राष्ट्रपति पौडेलले प्रादेशिक कानुन निर्माण प्रक्रिया सम्पन्न गरेर शीघ्र कार्यान्वयनमा लैजाने गर काम भइरहेको बताए ।
उनले प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ-नयाँ योजना बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता औँल्याए । नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया