बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएका थिए उनले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज्ञा गरेका थिए ।
अदालतको फैसलापछि मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले पत्रकारसँग भने, उनी बङ्गलादेश पुगेको दिन वा अदालतमा आत्मसमर्पण गरेकै दिन सजाय भुक्तान गर्नेछन् । यो मुद्दा अभियोजनकर्ताले पूर्वप्रधानमन्त्रीलाई सत्ताबाट हटाइएपछि उनले गरेको टिप्पणीमा केन्द्रित थियो, जुन उनीहरूले जारी अदालती सुनुवाइमा साक्षीहरूलाई धम्की दिएको बताएका थिए ।
इस्लामले भने, उनको टिप्पणीले मुद्दा दायर गर्नेहरू र साक्षीहरूबीच डरको आभा पैदा गरेको अभियोजन पक्षको जिकिर छ । प्रतिबन्धित अवामी लिगका देशबाहिर रहेका अर्का नेता शकिल अकाण्डा बुलबुललाई सोही मुद्दामा दुई महिनाको जेल सजाय सुनाइएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा हसिनाको सरकारले सत्तामा टिक्न असफल प्रयासस्वरुप प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि एक हजार ४०० जनाको मृत्यु भएको थियो ।
जुन १ देखि सुरु भएको अर्को सुनुवाइमा अभियोजनकर्ताहरूले हिंसाका लागि हसिनाले समग्र कमाण्डको जिम्मेवारी लिएको बताएका छन् । उनका सरकारी वकिलले बङ्गलादेशी कानुनअनुसार मानवताविरुद्धको अपराधका विभिन्न आरोप अस्वीकार गरेको बताएका छन् ।
प्रतिक्रिया