बिहीबार, असार १९, २०८२

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि

नेपालखोज २०८२ असार १९ गते २०:१२

वासिङ्टन । अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाब पर्न सक्ने विश्वव्यापी अनुमानबीच जुनमा अमेरिकी रोजगारी दरमा अपेक्षा गरिएभन्दा बढी रोजगारी थपिएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रम विभागका अनुसार मे महिनामा एक लाख ४४ हजारको हाराहारीमा रहेको रोजगारी दरमा गत महिना एक लाख ४७ कायम भएको बताइएको छ ।

बेरोजगारी दर ४.२ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ भने तलब वृद्धि ०।२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।कोभिड–१९ को महामारीपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले तुलनात्मक रूपमा राम्रो वृद्धि देखेको छ । लचिलो रोजगारीको बजारले उपभोक्ताहरूलाई खर्च गरिरहन अनुमति दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल, आल्मुनियम र कारको आयातमा चर्को कर वृद्धिसहित अमेरिकी व्यापारिक साझेदारहरूमाथि लगाएको करले उपभोक्ताको भावनालाई तानेको छ र व्यापार अनिश्चिततालाई बढावा दिएको छ ।

यो विशेष गरी अमेरिकी राष्ट्रपतिको करवृद्धिको घोषणा गर्ने, त्यसपछि समायोजन गर्ने वा उपायहरू रोक्ने दृष्टिकोणले गर्दा फर्महरू लगानीमा सतर्क भएका छन् ।

सम्भवतः अर्को हप्तादेखि लागू हुने कर वृद्धिको अर्को श्रृङ्खलालाई मध्यनजर गर्दै विश्लेषकहरूले रोजगार बजारमा कमजोरीको सम्भावनाबारे निगरानी गरिरहेका छन् र फर्म तथा कम्पनीले थप भर्ती र रोजगारीका अवसर विस्तारबाट पछाडि हट्न सक्ने सङ्केतदेखिएका छन्। -रासस/एएफपी

प्रतिक्रिया