फिनल्याण्डमा छुरा प्रहारबाट कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

नेपालखोज २०८२ असार १९ गते २२:०२

हेलसिन्की । फिनल्याण्डको टाम्पेरे शहरको एक व्यापारिक केन्द्र नजिकै बिहीबार केही व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आक्रमणमा केही घाइते भएका छन् तर शङ्कास्पद आक्रमणकारीलाई तत्काल सुरक्षा नियन्त्रणमा लिइएको छ । यो अवस्थाले अब बाहिरी मानिसका लागि खतरा पैदा गर्दैन । पीडितको उपचार सुरु भइसकेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पीडितको सङ्ख्यालगायत थप विवरण सङ्कलन भइरहेको छ । थप जानकारी प्राप्त भएपछि पुन घटनाबारे जानकारी गराइनेछ ।’ स्थानीय सञ्चार माध्यमका अनुसार हिंसात्मक घटनापछि प्रहरी कार र एम्बुलेन्स घटनास्थलमा पुगेका छन् ।

स्थानीय समयअनुसार अपराह्न ४ः२३ बजे छुरा प्रहार भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले रतिना सपिङ सेन्टर बाहिरको क्षेत्रलाई घेराबन्दी गरेको एक घण्टाभन्दा बढी समय अनुसन्धानका लागि प्रहरीलगायत अनुसन्धान अधिकारीहरूले प्रत्यक्षदर्शीसँग कुरा गरिरहेको प्रहरीले जनाएको छ ।

करिब दुई लाख ६० हजार जनसङ्ख्या भएको टाम्पेरे शहर हेलसिन्कीबाट लगभग १८० किलोमिटर उत्तरमा अवस्थित छ । रासस/एएफपी

प्रतिक्रिया