उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयकलाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउन आग्रह

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउन आग्रह गरेका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र नभइ सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने स्पष्ट पारे ।
प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाछुट्टै संरचना आवश्यक रहेको उल्लेख गर्दै उनले आईकाओलगायतका अन्तर्राष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको जानकारी दिए ।
मन्त्री पाण्डेले नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेकाले हवाई सेवा प्रदायक र नियमन निकायलाई अलग गर्ने बिषयमा कुनै अन्यौल नरहेको बताए । उनले नियामक र सेवा प्रदायक निकाय छुट्टिएर स्वायत्त रुपमा सञ्चालनमा आए मात्र हवाई सुरक्षामा सुधार आउने धारणा राखे ।
प्रतिक्रिया