शनिबार, असार २१, २०८२

नर्वे र युक्रेनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्झौता, द्विपक्षीय सहकार्य विस्तार हुँदै

नेपालखोज २०८२ असार २१ गते १२:३४

ओस्लो । नर्वे र युक्रेनले आपसी सहयोग विस्तार गर्ने उद्देश्यले एक महत्वपूर्ण स्वास्थ्य साझेदारी सम्झौता गरेका छन्। नर्वे सरकारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी उल्लेख गरिएको छ ।

उक्त सम्झौता यसै साता युक्रेनको राजधानी किभमा सम्पन्न भएको हो । नर्वेका स्वास्थ्य मन्त्री जान क्रिस्टियन वेस्ट्रे र युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लियाश्कोले सो सम्झौतामा हस्ताक्षर गरे । मन्त्री वेस्ट्रे हाल युक्रेनको औपचारिक भ्रमणमा छन् ।

स्वास्थ्य साझेदारीमार्फत दुवै देशका स्वास्थ्य सम्बन्धी निकाय, शैक्षिक संस्था तथा चिकित्सकहरूबीच अनुभव आदानप्रदान, तालिम र समन्वयका विविध कार्यक्रमहरू संचालन गरिनेछ ।

नर्वेले युक्रेनलाई प्रदान गर्दै आएको सहयोग नान्सेन कार्यक्रम अन्तर्गत पर्दछ, जसले नागरिक तथा सैनिक दुबै प्रकारका सहायता समेट्ने गर्दछ। मन्त्री वेस्ट्रेले आफ्नो भ्रमणका क्रममा नर्वेको योगदान युक्रेनी स्वास्थ्य सेवामा कसरी उपयोग भइरहेको छ भन्ने विषयमा प्रत्यक्ष अनुभव प्राप्त गर्नुभएको जानकारी दिए ।

उक्त सहयोग विश्व स्वास्थ्य संगठन , विश्व बैंक तथा काउन्सिल अफ युरोप डेभलपमेन्ट बैंकजस्ता प्रमुख अन्तर्राष्ट्रिय निकायहरूमार्फत प्रदान गरिएको हो । साथै, नर्वेले युक्रेनी बिरामीहरूको उद्धार तथा उपचारका लागि आफ्ना अस्पतालहरूमा सेवा उपलब्ध गराउँदै आएको पनि जनाइएको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया