शनिबार, असार २१, २०८२

टेक्सासमा विनाशकारी बाढी : १३ जनाको मृत्यु, क्याम्पका बालिका अझै सम्पर्कविहीन

नेपालखोज २०८२ असार २१ गते १२:५४

टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण/मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ ।स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २० भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् ।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाइअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ ।

टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उनले बताएअनुसार, ग्वाडालुपे नदीको पानीको सतह एकैचोटि २६ फिट (करिब ८ मिटर)ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन अवस्थामा छन् ।

शिविरका प्रमुखले पठाएको सन्देश अनुसार, बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्दार कार्य जारी रहेको छ। उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ । स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ, किनभने धेरै सडकहरू अवरुद्ध अवस्थामा छन् ।

विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् । -रासस/एएफपी

प्रतिक्रिया