लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३३० मिलिग्रामसहित सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय रोहित सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहराबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय दाता रानालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३३ प २९२ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने २४ वर्षीय बलराम चौधरी र सोही उपमहानगरपालिका-१९ बस्ने ३२ वर्षीय अरविन्द्र भण्डारीलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय मिलिग्राम तथा भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने ३१ वर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१० डेरा गरी बस्ने २६ वर्षीय प्रसन गिरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेटसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका-३ कच्चुबारीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका-९ बस्ने २५ वर्षीय गंगाराम चौहान र २० वर्षीय सुजन अधिकारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट प्र.१-०१-००२ ह ७५४८ नम्बरको अटो रिक्सा र प्र.१-०३-००१ प ६२१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया