रुम्टाखोलामा सम्झौता अघि पक्की पुल: बर्खामा रोकिएनन् सवारी

बागलुङ । आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जाड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि पुल निर्माण गरिएको हो ।
पुल अभावमा वर्षायाममा सवारीसाधन ठप्प हुने समस्या अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् । पुलबाट पछिल्लो एक सातायता सवारीसाधन सञ्चालनमा आउन थालेका हुन् ।
जैमिनी नगरपालिका-९ र १० का नागरिकलाई पालिका सदरमुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले तयार भइसकेको हो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि वर्षामा सवारीसधान तार्ने तयारी गरिएको छ । निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन पर्वतले छ करोड नौ लाख ४६ हजार ३६७ रुपैयाँ लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको जनाएको छ ।
अधिकांश काम सकिएकाले वर्षामा खोला जलसतह बढ्न थालेपछि पुलबाट सवारीसाधन सञ्चालन गर्न/गराउन थालिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका इञ्जिनियर गोविन्दप्रसाद चौधरीले बताए । उनले वर्षामा सवारीसधान नोरोकिने गरी पुलसँग जोडिएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको जानकारी दिए । विसं २०८१ वैशाख ११ गते दुई वर्षमा पुल निर्माण सक्नेगरी सम्झौता भएकोमा एक वर्षमा सम्पन्न भएको उनको भनाइ छ ।
यसअघि पुल नहुँदा यातायात ठप्प भएपछि जैमिनी-९ र १० का नागरिक पालिका सदरमुकामसँगै सम्पर्कविहीन हुने गरेका उनको भनाइ छ ।
सडक निर्माण भएको १७ वर्षपछि उक्त रुम्टाखोलामा पुल बनेपछि दक्षिण बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाएर पुल निर्माण गरेको हो । कुल आठ करोड एक लाख ५९ हजार ६०८ रुपैयाँ लागत अनुमान रहेकामा निर्माण कम्पनीले छ करोड नौ लाख ४६ हजार ३६७ रुपैयाँ लागतमा निर्माणको जिम्मा लिएको थियो ।
इमानदारीपूर्वक काम गर्दा समयभन्दा अगाडि काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि राम क्षत्रीले बताए । उनले जनताले यो वर्षामा सास्ती खेप्न नपरोस् भनेर आफूले तीव्र गतिमा काम गरेको उल्लेख गरे ।
पुल वरपर मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम अन्तिम चरणमा पुगेको क्षत्रीले बताए । पुल हस्तान्तरणका लागि केही काम बाँकी भएपनि सवारीसाधन गुडाउन समस्या नरहेको उनको भनाइ छ ।
रुम्टाखोला पुलले जैमिनी नगरपालिकासँगै बरेङ गाउँपालिका र गुल्मीका हजाराै नागरिकलाई सहजता प्रदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए ।
उक्त सडकको माथिल्लो खण्ड राङ्खानी–बरेङमा कालोपत्र भइसके पनि तल्लो खण्ड कुस्मीसेरा-राङ्खानी खण्ड भने अलपत्र बनेको छ । कालोपत्रका लागि चौथो पटक म्याद थप्दासमेत सडक कालोत्र हुन नसकेको उपप्रमुख शर्माले बताए । रासस
प्रतिक्रिया