आइतबार, असार २२, २०८२

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर

नेपालखोज २०८२ असार २२ गते ७:०७

मान्म (कालीकोट) । कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँ तयारीका साथ डोजरसहित आवश्यक सामग्री राखिएका छन् ।

राजमार्गको सुर्खेतबाट मुगुसम्मको खण्डमा वर्षातको समयमा बाढीपहिराका कारणले अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी महत्वपूर्ण उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको हो ।

राजमार्ग अवरुद्ध नहोस् र भइहाले तत्काल सञ्चालनमा ल्याउन सकियोस् भनेर अत्यावश्यक उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

राजमार्गको सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु सडकका विभिन्न सात स्थानमा सडक डिभिजन कार्यालय सुर्खेत र जुम्ला डोजर राखेका हुन् ।

राजमार्गलाई लक्षित गरी सडक डिभिजन कार्यालय सुर्खेतले दैलेखको राकम र तल्लो डुङ्गेश्वरमामा डोजर राखेको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताए ।

सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटबाट मुगुसम्मको सडकलाई लक्षित गरेर पाँच ठाउँमा डोजर तैनाथ गरेको छ । कालीकोटको गगनेखोला–दैखोलाबाट खुलालुसम्मका लागि खुलालुमा, खुलालुबाट मान्मसम्मका लागि हुल्ममा, मान्मबाट टाकुल्लासम्मका लागि पिलीमा, टाकुल्लाबाट नाग्मसम्मका लागि गाल्जेमा र कालीकोटको नाग्म–जुम्लाबाट मुगुसम्मका लागि बुलबुलेमा डोजर तैनाथ गरिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवं इञ्जिनियर प्रदीपनारायण चौधरीले जानकारी दिए । -रासस

प्रतिक्रिया