सोटो नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपालका ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । फारवेस्ट ट्राभल एण्ड टुर्स प्रालिका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मानबहादुर शाहीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।
‘समृद्ध पर्यटनका लागि सामूहिक आवाज’ मूल नारासहित शनिबार काठमाडौंमा आयोजित साधारणसभाबाट शाही नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष दिनेश बस्नेत, दोस्रो उपाध्यक्ष माधव कँडेल, महासचिव कुमार पराजुली, सचिव कमलबहादुर मगर, कोषाध्यक्ष मधुसुदन नेपाल, सहकोषाध्यक्ष आनन्दकुमार क्षेत्री रहेका छन् । कार्यसमिति सदस्यहरूमा बिन्दु प्रधान, ओम जोशी, दासुराम गौतम, अनिशा ज्ञवाली, सुवोध धिताल, प्रेमकुमार दनुवार र सुजीत यादव चयन भएका छन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाहीले सोटो नेपालको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, सोटो नेपालको अध्यक्षको जिम्मेवारी पाउनु मेरा लागि सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्ने अवसरमात्र होइन, समग्र नेपाली पर्यटनको हितमा काम गर्ने ठूलो जिम्मेवारी हो ।
अध्यक्ष शाहीले पर्यटन क्षेत्रको समग्र विकासका लागि सामूहिक प्रयास, पारदर्शी सदस्य छनोट प्रक्रिया, सरकार र सरोकार भएकाहसँगको सहकार्य र उत्तरदायी नेतृत्वको आवश्यकता औँल्याउँदै आफू गन्तव्य प्रवर्द्धनमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सोटो नेपालका पूर्वअध्यक्ष तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया