आइतबार, असार २२, २०८२

कुखुराजन्य व्यवसाय धरासयी अवस्थामा

नेपालखोज २०८२ असार २२ गते १४:२४

चितवन । भरतपुरको लक्ष्मीपुरमा लामो समय कुखुरापालन व्यवसाय गरेका एक किसानको मृत्यु भएको तीन महिनामा बैंकले सबै सम्पत्ति लिलाम गर्‍ यो । दुई दशकभन्दा बढी यो पेसामा लागेका किसानको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । कतिपय कुखुरापालक किसान अहिले चेक अनादार मुद्दामा प्रहरी हिरासतमा छन् ।

त्यसो त दुई वर्षअघि यहाँका एक ठूला कुखुरा व्यवसायीले आत्महत्या गरेका थिए । नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल ८० प्रतिशत कुखुरापालक किसान विस्थापित भएको बताए । उनको भनाइमा अहिले कुखुरा पालिरहेकाहरु बैंकको ऋणका कारण ऋण थपेर व्यवसाय टिकाइरहेका छन् । कँडेलले भने, कोभिडअघिसम्म कुखुरा पाल्ने किसान पाँच हजाार बढी थिए, अहिले घटेर एक हजार हाराहारी होलान् ।

उनका अनुसार आधाभन्दा बढी किसान बैंकको कालोसूची, लिलाम प्रक्रिया र चेक बाउन्समा परेका छन् । साना किसानले थप आँट गरेर व्यवसाय नगरेको उनले बताए । ती किसानलाई बैंकले ऋण तिर्नका लागि दबाब दिइरहेको छ । किसान घटे पनि उत्पादन नघट्नुको पछाडि व्यावसायिक रुपमा फार्म खुलेका छन् ।

करिब ५० हजारदेखि पाँच लाखसम्म कुखुरा पाल्ने किसान ५० जना छन् । तिनै किसानका कारण उत्पादन विगतको तुलनामा कम घटेको कँडेल बताए । अहिले दैनिक ३० लाखदेखि ४० लाखसम्म समयअनुसार अण्डा उत्पादन हुने गर्दछ । चल्लाको उत्पादन भने आधा घटेको छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट जसको कुखुरा बाँकी छ, उनीहरुले ४० प्रतिशतभन्दामाथि ऋण थपेर टिकेको बताए ।

अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उनको भनाइ छ । गत वर्षसम्म बैंकको चर्काे ब्याज, दानाको मूल्य वृद्धि, अण्डाले उचित मूल्य नपाउनुजस्ता कारण कुखुराजन्य उद्योग सङ्कटमा परेको उनको भनाइ छ । उत्पादित चल्लाले बजार नपाउनु, सस्तो मूल्यमा कुखुराको मासु बिक्री गर्न बाध्य हुनुलगायत कारण पनि किसान सङ्कटमा पर्दै गएको भट्ट बताए ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीपछिका समयमा उत्पादित अण्डा र मासुले लागत मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताए । दानाको कच्चापदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डा र मासुको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उनले बताए ।

प्रतिक्रिया