आइतबार, असार २२, २०८२

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने-प्रहरी महानिरीक्षक दिपक थापा

नेपालखोज २०८२ असार २२ गते १७:५६

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी विगतमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै थप संयमता तथा व्यावसायिकता प्रदर्शन गरी नागरिक केन्द्रीत भई आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन ।

प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । विपद्को समयमा प्रहरीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा खटिनुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक थापाले चुनौतिको रूपमा देखा परेका प्रविधिको प्रयोगबाट सिर्जित अपराध, संगठित अपराध, लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी थप सजग हुनुपर्नेमा जोड दिँदै महिला बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत वर्गमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने बताए । साथै उनले हिरासत व्यवस्थापन एवम् फरार प्रतिवादी पक्राउमा विशेष सक्रियता अपनाई कार्य गर्नुपर्ने समेत बताए ।

प्रहरी महानिरीक्षक थापाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला नियहरूसँग समन्वय गरी प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिए । साथै सांगठनिक नीति निर्देशनहरूको अक्षरस पालना गरी प्रहरी कर्मचारीहरूको गुनासो व्यवस्थापनमा विशेष ध्यान दिई सामूहिक भावनाको विकास गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, प्रदेश तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू र विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया