आइतबार, असार २२, २०८२

आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल/कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

नेपालखोज २०८२ असार २२ गते १८:५७

काठमाडौं । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् ।

वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ ।

पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक फूर्वा ग्याल्बो मोक्तान (थुप्तेन)ले कार्यक्रमले दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालमा पर्यटक बढाउनका लागि पनि सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपालमा उत्पादन भएका सामानहरु प्रदर्शनीमा राखिनेछ भने व्यवसायीहरुबीच व्यावसायिक साझेदारीको अवसर पनि सृजना हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमै उक्त कार्यक्रमका लागि वर्ल्ड पिस युनियन अर्गनाइजेसन, वर्ल्ड पिस एम्ब्यासडरका नेपाल गुडविल एम्ब्यास्डर योसेफ काङ र आयोजक कम्पनीका अध्यक्ष लामाबीच सम्झौता समेत भएको थियो ।

वर्ल्ड पिस एम्ब्यासडरका नेपाल गुडविल एम्ब्यास्डर योसेफ काङले आफू यहाँ विश्व शान्तिका लागि आएको उल्लेख गर्दै आगामी नोभेम्बरमा हुन लागेको यस कार्यक्रमले दुई देशबीचको सम्बन्ध विकासमा सहयोग गर्ने बताए ।

त्यस अवसरमा दक्षिण कोरियास्थित चुङवुन विश्वविद्यालय र सोल जाङसिङ विश्वविद्यालयका प्राध्यापक सोङसुक चोले दक्षिण कोरिया उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीका लागि राम्रो गन्तव्य भएको बताए ।

कार्यक्रममा नेपाली र कोरियाका कलाकारबीच साङ्गीतिक आदानप्रदान, सांस्कृतिक प्रदर्शनी, परम्परागत खाना र पहिरनको शोकेसिङ, समूहगत छलफल तथा युनेस्को सम्पदास्थलहरूको प्रवर्द्धनलगायतका गतिविधि समावेश हुने जनाइएको छ ।कम्पनीले यसअघि जापान, दुवई र चीनमा यसप्रकारका कार्यक्रम आयोजना गरिसकेको छ । -रासस

प्रतिक्रिया