आइतबार, असार २२, २०८२

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग

नेपालखोज २०८२ असार २२ गते २०:५२

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय शिक्षा विधेयक–२०८०’ मा सहमति जुटाउन पाँच दिनको समय दिएको छ ।

समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटनका लागि थप समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको समिति सभापति अमरवहादुर थापाले बताए ।

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमा शिक्षक महासङ्घसँग केही बुँदामा कुरा नमिलेकाले समिति समक्ष समय माग्नुभएको थियो । उहाँले विधेयकलाई छिटो टुग्याउन आफू प्रयत्नरत रहेको बताए ।

समिति सदस्य श्याम घिमिरेले शिक्षक महासङ्घसँग केही कुरा मिल्न बाँकी भएकाले विधेयकलाई टुग्याउनका लागि केही समय आवश्यक रहेको बताए ।

समिति सदस्य छविलाल विश्वकर्माले सरोकार पक्षको अपनत्व हुने गरी विधेयक जारी गर्नुपर्ने भन्दै नमिलेको कुरा मिलाउनतर्फ सबै लाग्नुपर्ने बताए ।

समिति सदस्य विद्या भट्टराईले शिक्षकको बढुवा पारदर्शी तरिकाले हुनुपर्नेमा जोड दिए । समिति सदस्य सरिता भुसालले ५० वटा बैठक विधेयकका सम्बन्धमा बसेपनि अझै निचोडमा पुग्न नसक्दा आफूलाई दुःख लागेको बताए । समिति सदस्य रेखा शर्माले विधेयकलाई त्यतिकै अड्काएर राख्न नहुने भन्दै चाँडो पारित गर्न आग्रह गरे ।

समिति सदस्य देवेन्द्र पौडेलले समितिमा पार्टीको ह्वीप नलाग्ने भएकोले बहुमतले पास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । समिति सदस्य ईश्वरी घर्तीले शिक्षकको बढुवा समितिले तोकेअनुसार हुनुपर्नेमा जोड दिए ।

समिति सदस्य सुमना श्रेष्ठले विधेयकमा शिक्षकको मात्र नभएर विद्यार्थीका कुरा पनि समेट्नुपर्नेमा जोड दिए । समिति सदस्य ज्ञानु बस्नेत सुवेदीले मिल्न नसकेका कुरालाई समितिबाटै नै मिलाएर लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया