रैथाने धान हराउने चिन्ता

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांशतः खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ ।
डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहेँले धानका विकल्पमा यहाँका खेतमा कृषकले नयाँ उन्नत जातका धान लगाउने गरेका छन् ।
पटनेरी जस्तै कास्कीकै पोखरा महानगरपालिका–३३ भरतपोखरीको खुर्वादी, छहरालगायत स्थानमा विगतमा लगाउने गरिएको बिरेनफुल जातको धान अहिले लोप नै भइसकेको छ । यहाँ लगाइने अन्य मधेशे, गुर्दी, जरनेली, मन्सरा जस्ता धानका विकल्पमा अन्य धान लगाउने गरिएको छ ।
कृषि प्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन् । परम्परागत रैथाने औषधीय गुण भएका धानका बीउ लोप हुँदै जानु यतिखेर चिन्ताको विषय बनेको छ । तालैतालले भरिएका कास्कीका ताल किनारमा विगतमा पाइने जङ्गली धान नाभो त लगभग एकादशको कथा जस्तै बनिसकेको छ । धानको अति प्राचीन प्रजाति नाभोबाटै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननीका रुपमा समेत लिने गरिएको छ ।
रैथाने प्रजातिका धानका बिउको संरक्षण गर्न लिबर्डका तर्फबाट स्थानीय समूदायलाई नै सहभागी गराएर विभिन्न प्रयास भइरहेको लिबर्डका प्राविधिक इन्द्र पौडेलले जानकारी दिए । उनका अनुुसार समूदायकै सकृयतामा बेगनास क्षेत्रमा ४० भन्दा बढी जातका रैथाने धानको संरक्षण गर्ने काम भइरहेको छ ।
कास्कीकै आर्वा क्षेत्रमा ६-७ जातका रैधाने धानको बिउ संरक्षणको पहल भइरहेको उनले जानकारी दिए । कास्कीकै अन्नपूर्ण गाउँपालिकाका विभिन्न ४७ रैथाने जातको धानको बिउ संरक्षणका लागि काम भइरहेको का प्राविधिक पौडेलको भनाइ छ । रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जातहरू संरक्षण गर्ने गरिन्छ । लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित जिन बैंकमा राख्ने गरिएको छ ।
रैथाने जातका धान तथा बाली विस्तारै लोपोन्मुख बन्न थालेपछि लेखनाथको सुन्दरीडाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी त्यहाँबाट पनि सरक्षणको पहल भइरहेको छ । उक्त केन्द्रले धान बालीका साथै, कोदो, तरकारीलगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीउ संरक्षण गर्ने गरिएको छ । रैथाने जातको संरक्षणका लागि पछिल्लो समय कृषकको सकृयता बढेको पाइन्छ ।
उपत्यका, तालतलैया र सिमसार क्षेत्रजस्ता विविधतायुक्त भू–बनोट पाइने कास्कीमा ५० भन्दा बढी जातका स्थानीय धान लगाउने गरिए पनि विस्तारै राम्रो उत्पादनका लागि कृषक हाइब्रिड धानतर्फ आकर्षित बन्ने गरेका सुरौदीका अगुवा कृषक रमेश आचार्यले बताए ।
सुरौदी र आसपासका क्षेत्रमा विगतमा लगाउने बातिसरा, मानामुरी, मधेशे, गुर्दी जस्ता धान अहिले पाइँदैन, उनले भने, पछिल्ला समयमा राम्रो उत्पादन लिने सोचका साथ यस क्षेत्रमा हाइब्रिड धानको बिउ नै लगाउने गरिएको छ । रसायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको उनले बताए ।
विगतमा पटनेरी फाँटमा झुल्ने पहेँले धान खेतमा नै हरहर बास्ना आउने गरेकामा अहिले भने रासायनिक मलकै प्रयोगका कारण भान्छामा पनि वास्ना आउन छोडेको स्तानीय बताउँछन् । कास्कीका ताल तलैयाको छेउमा लगाइने गरेका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेको छ ।
समुद्री सतहबाट करीब ३०० मिटरदेखि ६०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सी जस्ता धान देखिन छोडेका छन् । नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली पहेँले, मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउछन् ।
कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो ।
विगत वर्षमा पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको सिशुवा, पटनेरीलगायतका स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ । रैथाने जातको संरक्षणसँगै सकेसम्म स्थानीय जातको प्रवद्र्धन होस् भन्ने कुरामा महानगरपालिका गम्भीर रहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरिया बताए ।
महानगरपालिकाले पोखराको पहिचानका रुपमा रहेको पोखरेली जेठोबुढोको प्रवद्र्धनसँगै प्रयोग बढाउने कुरामा लागेको उनले बताए । यस वर्ष महानगरपालिका क्षेत्रमा सात हजार ५०० किलोग्राम पोखरेली जेठोबुढोको धानको बिउ अनुदानमा कृषकलाई उपलब्ध गराएको उनले बताए ।
प्रतिक्रिया