आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

नेपालखोज २०८२ असार २३ गते १५:५०

काठमाडौं । सांसदहरुले भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुनःनिर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए ।

उपभोक्ता अदातलसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको आन्दोलनले बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेको उनको भनाइ छ । आन्दोलनरत चिकित्सकहरुको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा शर्माले चिकित्सकको दरबन्दी बढाउनसमेत माग गरे ।

मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठीक छ छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्र्तगत बनेको कानुन र नन–मेडिकल मान्छेहरुले गर्ने ?, सांसद डा शर्माले भने, चिकित्सकको काम कारबाहीका बारेमा यसरी निर्णय गर्ने विषय लजास्पद र दुखद् हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण तीव्र गतिमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए ।

सांसद बस्नेतले जोखिमपूर्ण बस्तीलाई सुरक्षित रुपमा पुनःस्थापना र भूकम्पपीडित नागरिकको जीवनरक्षा एवं सम्मानजनक पुनःस्थापनाको माग गर्नुभयो । पुनःनिर्माण व्यावहारिक नहुँदा यी घरहरुमा बसोबास गर्न जोखिमपूर्ण भएको उनले बताए ।

जाजरकोटसहित भूकम्प प्रभावित जिल्लाका नागरिकहरु अस्थायी टहरामा जोखिमपूर्ण जीवन बिताइरहेको छन् । बाढीपहिरो र मौसमजन्य प्रतिकूलताले उनीहरुको पीडा झन गहिरिएको छ, सांसद बस्नेतले भने, भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण ढिलाइ नगर्न आग्रह गर्छु ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चन्द्रबहादुर विश्वकर्माले भूकम्प प्रभावितको समस्या समाधानमा जोड दिन आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले चोभार गल्छीको भूगोल र स्वरुप कुनै हालतमा परिवर्तन हुन नदिइने धारणा राखे । उनले चोभारमा रहेको बागमती निकास गल्छी काट्ने विषयमा कुनै काम भएको भन्ने उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जवाफप्रति आभारसमेत प्रकट गरे ।

मन्त्री सिंह र बागमति सभ्यता र विपद् व्यवस्थापन निकायहरुसँग छलफल गर्दा त्यस्तो कुनै कार्यक्रम नगरिने जवाफ पाएँ, त्यसका लागि आभार व्यक्त गर्छु । भविष्यमा पनि यस्तो काम नहोस्, सांसद केसीले भने ।

मञ्जश्री गल्छी धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थान भएको उल्लेख गर्दै उनले यस स्थानलाई यसको संरक्षणलाई ध्यान राख्दै डुबानको जोखिम कम गर्ने उपाय खोज्नुपर्नेमा जोठ दिए ।

प्रतिक्रिया