अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह

नेपालखोज २०८२ असार २४ गते ९:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु ।

अध्यक्ष दाहालले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिएका छन् । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याएका छन् ।

उनले भनेका छन्, ‘म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकहरूलाई यो सङ्कटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछ ।’

प्रतिक्रिया