१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, चालु आवको ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब

काठमाडौं । बैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात रेमिट्यान्स रकम बढेको छ ।
नेपाल राष्ट्र बैकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको ११ महिनाको प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह १५ दशमलव पाँच प्रतिशतले बढेर.१५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७दशमलव दुई पतिशतले बढेको थियो । २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२दशमलव सात प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव दुई प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङख्या चार लाख ५२ हजार तीन सय २४ र पुन: श्रम स्वीकृति लिनेको सङख्या तीन लाख आठ हजार ६७ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङख्या क्रमश: चार लाख २१ हजार तीन सय ५६ र दुई लाख ६१ हजार २१० रहेको थियो ।

प्रतिक्रिया