विपक्षी दलको विरोधका कारण आज तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर । मधेस प्रदेशसभाको बैठक आज तेस्रो दिन पनि विपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्तिलगायतले तीन दिनदेखि बैठक अवरोध गरिरहेका छन् ।
आजको बैठकको सुरुमै राप्रपाकी सांसद कञ्चन बिच्छा, नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालकी किरणकुमारी शाह, माओवादी केन्द्रकी शारदा पहाडी, एकीकृत समाजवादीका प्रमोद यादवले शून्य समयमै बजेटमा विचौलिया हाबी भएकाले पुनर्लेखन नभएसम्म सदन चल्न नदिने बताएका थिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले भने बजेटको बहानामा सदनलाई बन्धक बनाउन नहुने बताए । सदन चलेपछि मात्र बजेटमा भएको कमजोरीलगायत विषयमा छलफल गर्न सकिने उनको भनाइ थियो । लगत्तै सभामुख रामचन्द्र मण्डलले विरोधका बीच बैठक बस्न नसक्ने भन्दै स्थगित गरे । अर्को बैठक बुधबार दिउँसो १ः०० बजे बस्नेछ ।
सरकारलाई दिएको समर्थन फिर्ता नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।आज बसेको प्रदेशसभा बैठकमा सो पार्टीका तर्फबाट उर्मिलादेवी सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको भन्दै सदनलाई जानकारी गराए । मधेस प्रदेशमा उहाँ सो पार्टीको एक्लो सदस्य छन् । यसअघि यहाँ जनमत पार्टीका नेता सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्तिले समर्थन गरेको थियो । -रासस

प्रतिक्रिया