पूर्वमन्त्री रेग्मीको निधन

नेपालखोज २०८२ असार २४ गते १९:२३

तानसेन (पाल्पा) । पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित भएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।

पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए । उनी पछिल्लो समय अस्वस्थ थिए । काठमाडौं मध्य बानेश्वरमा बस्दै आए पनि केही समय अघि अष्ट्रेलिया गएका रेग्मीको उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी अत्याधिक मतका साथ विजयी भएका थिए । रेग्मी २०३४ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्री समेत भएका थिए ।

पाल्पाका शिक्षाविद् डा. रामप्रसाद ज्ञवालीका अनुसार रेग्मीको निधनले देशले एक असल राजनीतिज्ञ गुमाएको बताए । उनले भने, ‘रेग्मी मेरो फुपुको छोरा हुनुहुन्छ, आमाको निधनपछि मेरै घरमा बसेर २०१५ मा संसदीय चुनाव लड्नुभयो र विजयी पनि हुनुभयो । पछि उहाँ पञ्चायतमा गएर २०३३÷०३४ मा मन्त्री पनि बन्नुभयो ।’

कांग्रेस पाल्पाले कांग्रेसका पूर्वसह–महामन्त्रीसमेत रहेका रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले मङ्गलबार शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए

स्व रेग्मीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ । -रासस

प्रतिक्रिया