प्रदेश सरकारको बजेटबारे आलोचना

महेन्द्रनगर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटप्रति आलोचना गरिएको छ । ‘राइट्स क्लिनिक’ को आयोजनामा आज जनकपुरधाममा आयोजित ‘बजेट संवाद’ कार्यक्रममा सरोकार भएकाहरूले सरकारले ल्याएको बजेट असन्तुलित मात्र नभइ अव्यवहारिक रहेको टिप्पणी गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मधेस प्रदेश संसदीय दलका नेता कञ्चन विच्छाले बजेट जनमुखी नभएको बताउनुभयो । शिक्षा सबैका लागि पहुँचयोग्य नहुँदासम्म दिगो विकास सम्भव नहुने विचार व्यक्त गरेका छन् ।
नेपाल सङ्घीय समाजवादी पार्टी, मधेस प्रदेश संसदीय दलका नेता एवं पूर्वमन्त्री विमला अन्सारीले बजेट असमान रूपमा विनियोजन भएको भन्दै यसले परिणाम दिन नसक्ने बताए ।
उनले दलित महिला तथा सीमान्तकृत समुदायको पक्षमा छुट्टै कार्यक्रम नराखिएकोप्रति असन्तोष जनाउँदै भन्नुभयो, ‘जनसङ्ख्याको अनुपातमा बजेट छुट्याइनुपर्छ, तर त्यस्तो गरिएन । यो दुःखद हो ।’
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामसरोज यादवले आफ्नो पार्टी सरकारमा भए पनि जनताको भावनाविपरीत ल्याइएको बजेट जस्ताको तस्तै पारित गर्न नसकिने स्पष्ट गरे ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामअशिष यादवले बजेट घाटामुखी मात्र नभइ पूर्णतः असन्तुलित रहेको भन्दै पुनर्लेखन गरेर सुधार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरू जवाहर कुशवाहा, कनिस पटेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्ण, अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रदेश संयोजक राजु पासवानलगायतले बजेटबारे धारणा राखेको थिए । राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश प्रमुख बुद्धनारायण साहनीले आफ्नो प्रस्तुतीकरण गरेका थिए । -रासस

प्रतिक्रिया