कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै रुरुका किसान

नेपालखोज २०८२ असार २६ गते १०:५८

तम्घास । रुरुक्षेत्र गाउँपालिकाका किसानले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको रुरु कृषि परियोजनाले किसानहरूलाई उत्पादन र उत्पादित उपजको बजारीकरणमा सहयोग गरेपछि उनीहरूले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका हुन् ।

रिडीका ७८ वर्षीय रामचन्द्र भट्टराईले गत वर्ष रुरु कृषि परियोजनामार्फत १०० मेवाका बिरुवा निःशुल्क पाए । परियोजनाका प्राविधिकले मेवा लगाउने तरिका सिकाए । मकैखेती हुने बारीमा मेवाका बिरुवा लगाएका उनले यही असारको पहिलो हप्ता ६० हजारका मेवा बिक्री गरे ।

मकै लगाउँदा बाँदरले हैरान पाथ्र्यो, परीक्षणका रुपमा मेवा लगाएँ, उनले भने, सय वटा बिरुवा लगाउँदा ३५ वटा मात्र बाँचेका थिए । मेवा बिक्री गर्नुका साथै साथीभाइ, आफन्त तथा इष्टमित्रलाई समेत उनले पठाएका छन् । उनले एक रोपनी क्षेत्रफलमा मेवा लगाएका हुन् । मेवा औसतमा प्रतिकेजी ४५ मा स्थानीय बजारमा बिक्री भएको थियो । उनले यही असारमा थप २०० बिरुवा लगाएका छन् । मकै लगाएको भए दुई मुरीबाट जम्मा आठ हजार मात्रै हुन्थ्यो, मेवा लगाएपछि आम्दानी धेरै नै वृद्धि भयो, उनले भने, बजारको पनि कुनै समस्या छैन । उनले यसै वर्ष ५० वटा आँपका बिरुवा पनि लगाएका छन् ।

अर्का किसान ३४ वर्षीय पुष्प भट्टराईले पनि खुर्सानी बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । परियोजनाले गत वर्ष एनएस १७०० जातको खुर्सानीको बीउ दिएको थियो । सोही बीउबाट बिरुवा उत्पादन गरी अहिले उक्त बिरुवाबाट आम्दानी लिइरहेका छन् । एक रोपनीमा १४ सय बिरुवा लगाएका उनले अहिले खुर्सानी पैँचो पसल र स्थानीय बजारमा बिक्री गरे ।

स्थानीय बजारमा प्रतिकेजी १०० र पैँचोमा प्रतिकेजी ६७ मा उनले बिक्री गर्दै आएका छन् । लगाएको दुई महिनामा उत्पादन दिने रहेछ, उनले भने, अहिले घरमै बसेर मनग्य आम्दानी गरिरहेको छु । उनले एक हप्ताको अन्तरालमा तीन क्विन्टलसम्म खुर्सानी बिक्री गरे । खुर्सानीका साथसाथै उनले भिण्डी, बोडीलगायतका सागसब्जीखेती एवं बाख्रापालन समेत गरेका छन् ।

रु ३५ लाखको सागसब्जी बिक्री

पालिकाद्वारा सञ्चालित परियोजनाले उत्पादनका साथै बजारीकरणमा पनि काम गरिरहेको छ । गत वर्ष मात्रै उत्पादन भएका टमाटर, सिमी, काँक्रो, लौका, खुर्सानीलगायत सागसब्जी पाल्पा र पैँचो पसलमा फरक–फरक मूल्यमा बिक्री भए । पचहत्तर टनभन्दा बढी सागसब्जी चालिसेले जानकारी दिए । हाल पालिकाभर १० हजार माउबाख्रा रहेको, एकता महिला उद्यमी बहुउद्देश्यीय सहकारीमार्फत बजारीकरण भइरहेको, उखुको प्रवद्र्धनको लागि बीउ वितरण र गुड, खुदो बनाउने उद्योग स्थापना गरेर किसानको आयआर्जन बढाइएको उनले बताए ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कृषि र पशुपालनलाई राजगारी माध्यम बनाउने पालिकाको लक्ष्यअनुसार काम भइरहेको बताए । किसानलाई मल, बीउ, प्राविधिक परामर्शलगायत पक्षमा पालिकाले सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया