बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सांसदहरुको जोड

नेपालखोज २०८२ असार २६ गते १५:२७

काठमाडौं । सांसदहरूले ‘सुप्राग्लेशियल लेक’ (हिमताल) फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनःस्थापनामा जोड दिएका छन् ।

आज सङ्घीय संसद्, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनीहरूले विपद्सँग जुध्न, प्रकोपपूर्व, प्रकोप परिसकेपछि आपतकालीन चरण र पुनःस्थापनाको चरणमा सरकारले प्राथमिकताका साथ नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । समितिका सभापति मायाप्रसाद शर्माले बाढीपीडितलाई समयमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माण गर्नुपर्ने तथा बस्ती र पूर्वाधार विपद्मैत्री निर्माण गर्नुपर्नेमा जोड दिए ।

सांसद पदम परियारले बाढीबाट क्षति पुगेकालाई तत्काल राहत उपलब्ध गराउनुपर्ने र भत्किएका संरचना छिटोभन्दा छिटो पुनःनिर्माण गर्नुपर्ने बताए । हामीले विपद्का घटनापछि मात्र होइन, विपद् कसरी न्यूनीकरण र व्यवस्थापन गर्ने भन्नेमा उत्तिकै प्राथमिकता दिनुपर्छ, उनले भने, हाम्रो पूर्वतयारीको अवस्था निकै कमजोर छ । तसर्थ पूर्वतयारी र प्रतिकार्यमा लगानी बढाउनुपर्छ ।

सांसद रुक्मिणी कोइरालाले उद्धार र राहत व्यवस्थापन समयमै गर्नुपर्ने तथा नाका खुलाउनुपर्नेमा जोड दिइन् । सांसद रेणु चन्दले विपद् व्यवस्थापन र पुनःस्थापनामा ध्यान दिन सरकारलाई सुझाव दिए । सांसद मदनकुमारी शाहले जतिबेला मनसुनजन्य विपद्को समस्या आउँछ, त्यतिबेलाभन्दा अग्रिम पूर्वतयारी आवश्यक रहेको बताए ।

जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी आएको जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले सुप्राग्लेशियल लेक फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

प्रतिक्रिया