गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

नेपालखोज २०८२ असार २६ गते १९:३७

वीरगञ्ज (पर्सा) । छिमेकी मुलुक भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौताअनुसार गण्डक नहरमा पानी उपलब्ध नगराउँदा पर्सा, बारा र रौतहटमा कृषकलाई रोपाइँ गर्न समस्या भएको छ । तीन जिल्लाका कृषकले असारे धान रोपाइँका लागि बिउ तयार गरे पनि पानी उपलब्ध नहुँदा धान रोपाइँ प्रभावित बनेको छ ।

भारतीय पक्षले सम्झौताअनुसार गण्डक नहरमा ८५० क्यूसेक पानी उपलब्ध गराएको छैन । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका प्रमुख मनोजकुमार पटेलले भारतले अहिले दैनिक ५३५ क्यूसेक पानी मात्र उपलब्ध गराउँदै आएको छ ।

कार्यालयका अनुसार पर्साको १ देखि ४ नम्बरसम्मको ब्लकमा धान रोपाइँ भएको छ भने बाराको मर्टिअर्वासम्म पानी पुगेको छ । नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ तारिखमा गण्डक सिँचाइ तथा जलविद्युत् योजना सम्झौता भएको थियो ।

सो सम्झौताअनुसार दुवै मुलुकमा सिँचाइ गर्र्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी नारायणी सिँचाइ प्रणालीको विकास गरिएको थियो ।

सो सिँचाइ योजनाअन्तर्गत पर्सा, बारा र रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न भारतीय पक्षले नेपालका लागि ८५० क्यूसेक पानी अटाउने गण्डक नहर निर्माण गरेर सन् १९७५ मा नेपाललाई हस्तान्तरण गरेको थियो ।

गण्डक नहरबाट भारतीयभूमी हुँदै नेपाल–भारतको सीमाक्षेत्र जानकीटोला हुँदै पर्सामा पानी भित्रिने गर्छ । यो नहर नेपालतर्फ ८१ किलोमिटर लामो छ ।

यो नहरको नौवटा डिष्ट्रिव्युटरी र ८७ वटा संरचना अन्र्तगत पर्सा, बारा र रौतहट जिल्लामा सिँचाइ गर्ने गरिन्छ । सम्झौताअनुसार तीन जिल्लाको ३७ हजार ४०० हेक्टर क्षेत्रमा सिँचाइ हुनुपर्ने भए पनि हालसम्म २८ हजार हेक्टर जग्गा मात्र सिँचित हुँदै आएको प्रमुख पटेलले जानकारी दिए ।

गण्डक नहरमा भारतीय पक्षले बर्सेनि वर्षायाममा असार १५ गते र हिउँदमा पुस १० गते सिँचाइका लागि पानी उपलब्ध गराउनुपर्ने सम्झौता छ । यसवर्ष भारतीय पक्षले सोहीअनुसार वर्षायाममा नहरमा पानी छाडिसकेको छ । -रासस

प्रतिक्रिया