जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्य मन्त्री पौडेल

नेपालखोज २०८२ असार २७ गते १४:४४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको बताएका छन् ।

विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल सरकारबाट हालै राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत भएको जानकारी दिए । ’नेपालको अहिले देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान गर्न यो नीतिलाई मार्गदर्शनका रूपमा अंगीकार गर्दै तीनै तहका सरकारमार्फत प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुने विश्वास लिएको छु,’ उनले भने ।

नेपालको जनसंख्याको वर्तमान बनावट, वितरण र संरचनासँगसँगै देखापरेका अवसर र चुनौतीहरूलाई उचित सम्बोधन गर्न सरकारले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको भन्दै मन्त्री पौडेलले सन्देशमा भनेका छन् । ’ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएको सन्दर्भमा उनीहरूको ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्न, युवा जनसंख्याले चाहेजस्तो पारिवारिक आकार र वातावरण निर्माण गर्न तथा पारिवारिक सद्भाव कायम राख्न जनसंख्याको प्रभावकारी व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले राष्ट्रिय जनसंख्या नीतिको कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सहयोग र सकारात्मक सुझावको अपेक्षा गर्दै विश्व जनसंख्या दिवसको सन्देशलाई साकार पार्न हामी सबैको साझेदारी तथा समन्वयको अपेक्षा गरेको छु । नेपालको जनसंख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्ने अभियानमा एकताबद्ध हुन आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया