महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु होः मन्त्री भण्डारी

नेपालखोज २०८२ असार २७ गते १५:२७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई परिवारलाई नै आर्थिक रूपमा सक्षम बनाउनु रहेको बताएका छन् ।

अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलनको आज यहाँ उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार भएको बताए ।

उनले भने, महिला उद्यमशीलताले एउटा समुदायमा रोजगारी सिर्जना गर्नु हो र अन्ततः राष्ट्रको स्वाभिमान तथा आत्मनिर्भरता मजबुत बनाउनु हो । महिला नेतृत्व र उद्यमशीलताको कुरा गर्दा केवल लैङ्गिक समानता मात्र होइन, राष्ट्र निर्माणको मुख्य संवाहकका रूपमा कुरा गरिरहेका हुन्छौँ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न महिला उद्यमीको विकास अपरिहार्य रहेको मन्त्री भण्डारीले स्पष्ट पारे । सरकारले हाल सञ्चालनमा ल्याएका विभिन्न कार्यक्रम महिला उद्यमशीलता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण, व्यवसाय सम्बद्ध सेवा, ‘स्टार्टअप’ कार्यक्रम, शिल्पी समुदायको प्रवद्र्धनलगायतका पहलहरू रहेको उनले उल्लेख गरे ।

मन्त्री भण्डारीले भने, नेपालमा लघु, घरेलु तथा साना उद्योगको बाहुल्यता छ । त्यसमध्ये अधिकांशमा महिलाको नेतृत्व र संलग्नता छ । खाद्य प्रशोधन, जडीबुटी, चिया, कफी, हस्तकला, पर्यटनजस्ता क्षेत्रमा नेपाली महिलाको सीपले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनाएको छ ।

निर्यातमुखी उत्पादन रणनीति तथा जलवायु परिवर्तनजस्ता विषय उद्यमशीलता क्षेत्रका लागि अत्यन्तै सान्दर्भिक रहेको मन्त्री भण्डारीले उल्लेख गरे । एआई अब भविष्यको प्रविधि होइन, यो वर्तमानको यथार्थ हो, उनले भने, महिला उद्यमीले यसको प्रयोगबाट उत्पादन प्रक्रियामा सुधार, ग्राहक व्यवहारको विश्लेषण र व्यावसायिक दक्षता वृद्धि गर्न सक्नेछन् ।

हरियो उद्यमशीलताको अवधारणा अगाडि बढाउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली राष्ट्रमा बढी पर्ने भएकाले यसको समाधानलाई अवसरमा रूपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया