एनपिएल प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुन्छ : मन्त्री चौधरी

नेपालखोज २०८२ असार २७ गते १७:१६

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताएका हुन् ।

खेलकुद मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले विभिन्न विवादका बाबजुद पनि एनपिएल अयोजना हुने बताए । पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एनपिएलबारे उजुरी परेको थियो । त्यपछि अख्तियारले आवश्यक कारबाहीका लागि खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले पनि त्यसको प्रतिउत्तर अख्तियारमा पठाइसकेको उनले बताए ।

मन्त्री चौधरीले भने, ‘हामीसँग खरिद आदेश ऐन र नियमावली छ, खेलकुद विकास ऐन, २०७५ छ, खरिद आदेश मान्ने कि नमान्ने ? त्यसकारण एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छ ।’ उनले ऐन/कानुन र नियमावलीको परिधिभित्र रहेरै एलपिएल हुने बताए ।

मन्त्री चौधरीले सिङ्गो पत्रकारिता क्षेत्रले आवाजविहीनको आवाज उठाउनुपर्नेमा जोड दिँदै पत्रकारले सत्यतथ्यमा आधारित निश्पक्ष र विश्वसनीय समाचार दिनुपर्ने बताए । भ्रष्टाचारलाई अन्त्य गर्न र सुशासन कायम गर्नेगरी आफ्नो भूमिका निर्वाह गर्न मन्त्री चौधरीले पत्रकारहरुलाई आग्रह गरे ।

प्रतिक्रिया