नेपालखोजका प्रधान सम्पादक सुवास ढकाललाई प्रेस स्वतन्त्रता सम्मान

काठमाडौं । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले आफ्नो १४औँ स्थापना दिवसको अवसरमा चार जना सञ्चारकर्मीलाई पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विभिन्न सम्मान प्रदान गरेको छ । संस्थाले सञ्चारकर्मी सुवास ढकाललाई ‘तोरेन्द्र-इन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार’ प्रदान गरेको छ। ढकाल नेपालखोज डटकमका प्रधान सम्पादक हुन् र उनी विगत चार दशकदेखि स्वतन्त्र, तथ्यपरक र खोजमूलक पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।
याे पुरस्कारको राशी ५१ हजार रुपैयाँको छ। त्यसै गरी, महिला पत्रकारितामा सक्रियता र निरन्तरताको मूल्याङ्कन गर्दै ‘मिनादेवी श्रेष्ठ (रासस) महिला प्रोत्साहन पुरस्कार’ निशा दाहाललाई प्रदान गरिएको छ । पुरस्कार राशी १० हजार रुपैयाँ रहेको छ ।

अनिल श्रेष्ठले श्रमजीवी पत्रकारितामा योगदान पुर्याएको भन्दै २१ हजार राशीको ‘चन्द्रलाल-दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार’ प्राप्त गरेका छन् भने आर्थिक विषयमा दीर्घकालीन रिपोर्टिङ गर्दै आएका बन्धु पोखरेललाई ‘ओमप्रकाश गोयल आर्थिक पत्रकार पुरस्कार’बाट सम्मानित गरिएको छ, जसको राशी ५१ हजार रुपैयाँ छ। कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले सम्मानित पत्रकारहरूलाई बधाई दिँदै पत्रकारिताले सत्य, तथ्य र निष्पक्षता नछाड्नुपर्नेमा जोड दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकारिता पेसालाई जिम्मेवार र मर्यादित बनाउँदै अघि बढ्न पत्रकारलाई शुभकामना व्यक्त गरे। कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, सहकारीका अध्यक्ष दीपक दाहाल, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका महासचिव हेमा चेम्जोङ, महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक तथा सम्मानित सुवास ढकालले पनि सञ्चारकर्मीलाई आ-आफ्नो क्षेत्रको मर्यादामा रहेर निष्पक्ष र विवेकपूर्ण ढङ्गले काम गर्न सुझाव दिए ।
विसं २०६९ सालमा स्थापना भएको सञ्चार सहकारी संस्था विराटनगरमा हाल १२१ जना सञ्चारकर्मी आबद्ध छन् । सहकारीले विगतदेखि नै सञ्चारकर्मीको सामाजिक सुरक्षा, पेसागत क्षमता विकास र आत्मसम्मानको प्रवर्द्धनमा ध्यान दिँदै आएको छ ।

प्रतिक्रिया