कामपाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

नेपालखोज २०८२ असार २७ गते १७:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ ।

आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला बजेट ल्याउन लागेको हो । कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा आज बसेको राजस्व परामर्श समितिको बैठकले सो बजेट सीमा निर्धारण गरेको हो ।

आजै बसेको महानगरको ४०औँ कार्यपालिका बैठकले आगामी आइतबार १७ औँ नगरसभा अधिवेशन बस्ने निर्णय गरेको छ । सोही दिन बिहान कार्यपालिका बैठक बस्ने महानगर प्रमुख साहले बताए ।

महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष २४ अर्ब ९० करोड रुपैयाँ बजेट ल्याएको थियो । आगामी आवका लागि चालु आवको तुलनामा २१ करोड रुपैयाँ वृद्धि गर्ने गरी सीमा निर्धारण गरेको हो ।

राजस्व परामर्श समितिको बैठकमा प्रमुख साहले जनचाहनाअनुरूप विकास गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णयसमेत समितिले गरेको छ ।

प्रतिक्रिया