साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने बताएका छन् ।
आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) को १४औँ वार्षिकोत्सव समारोहमा उनले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या एचआइडिसीएलले हेर्नुपर्नेमा जोड दिँदै सरकारले आवश्यक सहजीकरण गर्ने उल्लेख गरे ।
‘सरकार मातहतको कम्पनी एचआइडिसीएलले विभिन्न आयोजना निर्माणका क्रममा वित्तीय अभावका कारण समस्या परेका साना आयोजनालाई पुँजी अभाव हुन दिदैछन् । २५ मेगावाट भन्दा कम क्षमताका आयोजनामा लगानी नगर्ने भनिएकामा त्यसलाई तत्काल परिमार्जन गर्नुपर्छ । साना, ठूला वित्तीय समस्यामा परेका आयोजनालाई लगानी गर्ने सरकारको दायित्व हो’, खड्काले भने । साना र मझौला आयोजनाले पनि ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका उनको भनाइ छ ।
मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआइडिसीएलले सहजीकरणको भूमिका मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्नुपर्नेमा जोड दिए । सबैलाई सहज हुने किसिमका नीति अवलम्बन गर्दै जानुपर्ने उनको भनाइ छ ।
ऊर्जामन्त्री खड्काले मुलुकको ऊर्जा आत्मनिर्भरता र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
उनले जलस्रोत मुलुकको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताए । जलविद्युत् परियोजनाको निर्धारित समयमा सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई मन्त्रालयले अघि बढाइरहेको उनले जानकारी दिए ।
ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रमा थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राखे । एचआइडिसीएल ऊर्जा क्षेत्रको बैंकको पनि बैंक बन्न सक्ने उनको भनाइ छ ।
एचआइडिसीएलका अध्यक्षसमेत रहनुभएका मन्त्रालयका सचिव सुरेश आचार्यले कम्पनीको १४ वर्षे यात्रामा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि एचआइडिसीएलले सकारात्मक भूमिका खेल्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया