कञ्चनपुरमा औलोको जोखिम बढ्दै

कञ्चनपुर । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार चालु आर्थिक वर्षको हालसम्म औलोबाट जिल्लामा ५६ जना सङ्क्रमित भएका छन् ।
भारत र अफ्रिकन मुलुकबाट फर्केका व्यक्तिहरूमा औलोको सङ्क्रमण उच्च रहेको पाइएको छ । भारतबाट फर्केका ५२ जना, अफ्रिकन मुलुकबाट फर्केका दुई जना र स्थानीय दुई जनामा औलोको सङ्क्रमण देखा परेको औलो निरीक्षक भट्टले बताए ।
औलो सङ्क्रमितमध्ये प्लाज्मोडियम फाल्सिपारमबाट १२ जना र प्याज्मोडियम भाइभेक्सबाट ४४ जना बिरामी सङ्क्रमित भएको पाइएका छन् ।
गत वर्षको यसै अवधिमा भारतलगायत मुलुकबाट फर्केका २९ जनामा औलोको सङ्क्रमण देखा परेको थियो । औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी पनि चुस्ने र लामखुट्टे सङ्क्रमित हुने भएकाले त्यस्ता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्ने उनको भनाइ रहेको छ ।
उनका अनुसार औलोबाट बच्न साँझ बिहानको समयमा पूरै शरीर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने, घर वरिपरि पानी जम्न दिँदै ।
औलो रोगबाट बच्ने उत्तम उपाय नै लामखुट्टेलाई टोक्न नदिनु नै हो । नेपालबाट औलो सन् २०२५ भित्रै निवारण गरी बिरामीको सङख्या शून्यमा झार्ने लक्ष्य लिइएको छ । -रासस

प्रतिक्रिया