लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ९८० मिलिग्राम सहित इलाम माई नगरपालिका–५ घर भएका २६ वर्षीय केशव राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहाको औरही गाउँपालिका–५ मलाह टोलबाट अवैध लागूऔषध गाँजा करिब २१२ किलो ९२५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राम उदगार मलाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गाडीबाट लागूऔषध गाँजा झार्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले ७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी राम उदगारलाई प्र.२–०१–००३ प २१५४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै प्रहरीलाई देख्नासाथ गाडी सहित फरार भएका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ शिखर चोक बस्ने २६ वर्षीय कोयुवराज थापा मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका–१३ मलाया रोड नहरबाट लागूऔषध गाँजा १५ किलो ३५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बस्ने ४७ वर्षीय बैजनाथ चौधरी र धनकुटा, धनकुटा नगरपालिका–८ बस्ने ४८ वर्षीय निर्पेश राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को.१० प ७०७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–२ केरौन बस्ने २५ वर्षीय संजय चौधरीलाई नियन्त्रित लागूऔषध स्पासपेन ९० ट्याब्लेट र ट्रामाडोल १ सय ५ ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
स्याङ्जाको भीरकोट नगरपालिका–२ बयरघारी बस्ने ३४ वर्षीय शिव कुँवरलाई नियन्त्रित लागूऔषध नाईट्रोसन ८८ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दहथुम समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
चितवनको कालिका नगरपालिका–५ मित्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९४ ट्याब्लेट, एनारगन १ सय ७८ ट्याब्लेट र भोमिन १६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरज सिम्खडालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–२ शान्ति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय रबिन कुमार मल्ल र डोटी पुर्वीचौकी गाउँपालिका–४ बस्ने २८ वर्षीय काले भन्ने तेज बहादुर खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका–२ कटान बस्ने १९ वर्षीय दिपक बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँको आबुँखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८६६ एम्पुल, फेनारगन ८६६ एम्पुल र बुप्रेनोर्फिन ८६६ एम्पुल सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका–५ बस्ने ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ७२८३ नम्बरको माइक्रो बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिलिग्राम सहित सप्तरी सुरूङ्गा नगरपालिका–५ बस्ने २८ वर्षीय रधिर कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३६१ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९५ ग्राम ५० मिलिग्राम र नगद ५६ हजार रूपैयाँ सहित रूपन्देही मायादेवी गाउँपालिका-४ बस्ने ४७ वर्षीय भगवान दास लोनियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भिमान, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५०७५ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया