लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

नेपालखोज २०८२ असार २८ गते २०:१८

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने भन्दै मापदण्ड तोकिएको छ । गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए ।

पछिल्लो समय आफूखुसी घर निर्माण गर्दा मौलिकता मासिएको भन्दै घर निर्माणमा निश्चित मापदण्ड तोक्नु परेको उनले बताए । गाउँपालिकाले कुनै व्यक्ति वा समुदायले घर तथा भवन निर्माण गर्दा भित्तामा सेतो र घरको छत (बोर्डर), झ्याल, ढोकाको रङ कालो हुनुपर्ने नियम बनाएको छ । यो नियम पालना नगरिए त्यस्ता व्यक्तिलाई कारबाही गरिनेसमेत गाउँपालिकाले जनाएको छ ।

नियम पालनाका लागि पालिकाले आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्ग लक्षित अनुदानको व्यवस्थासमेत गरेको छ ।

यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ९६ वटै गाउँबस्तीका घरको भौतिक संरचना ढुङ्गा र माटोले निर्मित छन् । यहाँ सदियाैंदेखिको घरका छतमाथि लस्करै दाउरा पाँजेर राख्ने प्रचलन छ । पछिल्लो समय यहाँ कङ्क्रिटका घर निर्माण हुने क्रम बढ्दो छ । -रासस

प्रतिक्रिया