मिश्रको ‘कविताको अन्नप्राशन’ सार्वजनिक

काठमाडौं । प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आज यहाँ विमोचन गरिएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त कविता सङ्ग्रह विमोचन गरेकी हुन् ।
सो अवसरमा उपसभामुख रानाले ‘कविताको अन्नप्राशन’ले महिलालाई प्रेरणा दिने बताइन् । मधेशमा महिला हिंसाका घटना सुनिने गरेकामा आफ्नै सासूलाई कवितासङ्ग्रह प्रकाशन गर्न बुहारीले सघाएको सन्देशले अन्य महिलालाई हौसला दिने र साहित्यिक गतिविधि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो ।
उक्त कविता सङ्ग्रहकी लेखिका मिश्रले आफू भारतबाट नेपाल विवाह भएर आएपछि सिकेको भाषा र आफ्नो साहित्यको दक्षतालाई पुस्तकको स्वरूप दिएको बताइन् । ‘म सन् १९८६ मा नेपाल आएकी हुँ । यहाँ आएपछि भाषा सिकेँ, आज सोही कारण मैले कविता सङ्ग्रह ल्याउन सकेकी हुँ । यो मेरो सुरुआत हो, आउँदा दिनमा पनि म साहित्यलाई निरन्तरता दिन्छु’, उनले भनिन् । उनले परिवारको साथकै कारण आफूले कोरेका शब्दलाई पुस्तक प्रकाशन गर्न सम्भव भएको बताइन् । -रासस








प्रतिक्रिया