कागखोलामा ‘बेलिब्रिज’ जडान थालियो

नेपालखोज २०८२ असार २९ गते २१:५३

मुस्ताङ । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागखोलामा अस्थायी ‘बेलिब्रिज’ जडान सुरु गरेको छ ।

त्यहाँ एक महिनाभित्रै बेलिब्रिज जडान सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । कोरला जोड्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीस्थित कागखोलामा २०८० साउन २८ गते कागखोलाको बाढीले त्यहाँको पक्की मोटरेबल पुल बगाएको थियो । खोलामा पुल नहुँदा कोरला नाका र उपल्लो मुस्ताङ आउजाउ गर्न समस्या भएको थियो ।

कागखोलामा बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको राहुघाट गलेश्वरमा रहेको अस्थायी बेलिब्रिजलाई कागखोलामा स्थान्तरण गरिन लागिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागार्इंले जानकारी दिए । म्याग्दीको राहुघाट खोलामा पक्की पुल निर्माण भइसकेकाले त्यहाँ राखिएको अस्थायी बेलिब्रिजलाई कागबेनीस्थित कागखोलामा स्थानान्तरण गर्न लागिएको हो ।

पक्की मोटरेबल पुल निर्माण प्रक्रिया ढिलो हुने देखिएकाले राहुघाट खोलाको पुल कागबेनीमा जडान गर्ने तयारी गरिएको हो । राहुघाटको बेलिब्रिज ढुवानी र जडान, ग्याबिन फाउन्डेसन र ग्याबिन वाल निर्माण गरी क्याप ढलान गरेर बेलिब्रिज निर्माण गरिने आयोजना प्रमुख धुव्र झाले जानकारी दिए । करिब ३५ लाख लागतमा बेलिब्रिज निर्माण गर्न लागिएको हो ।

मुस्ताङको कागबेनीमा बाढीले पक्की पुल क्षति भएपछि आयोजनाको समन्वयमा पुलचोक क्याम्पसका इन्जिनियर तथा विज्ञ टोलीले त्यस क्षेत्रको स्थलगत अध्ययन गरेका थिए । त्यहाँको भौगर्भिक अवस्थाको अध्ययन गरेर नयाँ पुल निर्माण गर्न नयाँ डिपिआर सर्भे गरिएको थियो ।

बाढीले पुल क्षति बनाएको दुई वर्षपछि त्यहाँ अस्थायी बेलिब्रिज जडान गर्न लागिएको हो । राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोघेकर दमोदरकुण्ड–२ घमीमा कोरला जोड्ने पक्की पुल निर्माणाधीन अवस्थामा छ । त्यसबाहेक बेनी–जोमसोम–कोरला सडकखण्डको अधिकांश स्थानमा पक्की मोटरेबल पुल निर्माण भइसकेका छन् ।

कागखोलामा पुल नहुँदा बर्खायाममा उपल्लो मुस्ताङ आउजाउ गर्ने नागरिकलाई समस्या भएको छ । त्यहाँ बेलिब्रिज निर्माण भए उपल्लो मुस्ताङ आउजाउ गर्नेलाई सहज हुने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । -रासस

प्रतिक्रिया