मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने

वीरगञ्ज (पर्सा) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताएका छन् ।
नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने ९म्यामोग्राम० र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को आज यहाँ शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेस प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टकृत उपचार केन्द्रको आवश्यकता आँैल्याए ।
‘आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरेका छौँ,’ उनले भने, ‘अस्पताल कहाँ स्थापना गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन । त्यसका लागि गृहकार्य भइरहेको छ । रौतहट, सप्तरी वा अन्य कुनै जिल्लामा हुन सक्छ ।’
मन्त्री पौडेलले सरकारले हाल १३ हजारभन्दा धेरै मिर्गौलारोगीको डाइलाइसिस गर्दै आइरहेको जानकारी दिए । मन्त्री पौडेलले नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्नुपर्ने बताए ।
उनले नारायणी अस्पताललाई एउटा मन्त्री वा मेडिकल सुपरीटेन्डेन्टले मात्रै राम्रो गराउन नसक्ने भएकाले यहाँका राजनीतिक दल समाजसेवी, सबै तह र तप्काका व्यक्तित्वको हातमालोले मात्रै व्यवस्थित गराउन सकिने उल्लेख गरे ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालले पछिल्लो समय विभिन्न उपचार थप गर्दै आइरहेको जानकारी दिए ।

प्रतिक्रिया