‘आवश्यकता अनुसारकै चलचित्र ऐन बन्छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको चलचित्र विधेयक आजको आवश्यकताअनुसार नै बन्ने बताएका छन् ।
आज चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति कार्यालयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’ मा मन्त्री गुरुङले राष्ट्रियसभामा प्रस्तुत गरिएको विधेयकलाई सबैको सल्लाह र परामर्शमा आजको आवश्यकताअनुसार ल्याउने बताए ।
उनले चलचित्रका माध्यमले नेपालको सुन्दरता, सांस्कृतिक विविधतालाई प्रचारप्रसार गर्न सकिनेमा जोड दिनुभयो । यसका साथै, चलचित्रलाई उद्योगको रुपमा बढाउन सकेमा त्यसले कूल गार्हस्थ्य उत्पादनमा समेत योगदान दिन सक्ने उनको भनाइ छ ।
चलचित्र विकास बोर्डद्वारा आयोजित उक्त कार्यक्रममा चलचित्र दीर्घसाधना सम्मान, चलचित्र पुरस्कार प्रदान गर्नुका साथै चलचित्र क्षेत्रमा योगदान दिएका १० जनालाई सम्मान र एक जना प्राविधिकलाई मरणोपरान्त सम्मान गरिएको थियो । -रासस

प्रतिक्रिया