सती प्रथा : धर्मको नाममा गरिएको अमानवीय अभ्यास र यसको ऐतिहासिक अन्त्य

१०५ वर्ष अगाडि सती प्रथा उन्मुलन भएको थियो । आखिर सती प्रथा साँच्चै शास्त्रमा वा पुराणहरूमा वर्णित वा पुण्य मिल्छ भनेर नै सुरुवात भएको हो वा पारिवारिक सामाजिक दबाबले विधवा बनेकी महिलालाई सती जान बाध्य बनाइएको भन्ने नै मूल प्रश्न हो । सती शब्द हिन्दुहरूको आख्यानको रूपमा रहेको स्कन्द पुराण पहिलो खण्डको रूपमा रहेको केदार खण्डबाट आएको हो यस खण्डमा महादेवका कथाहरू छन् । जसमा महादेवका पहिलो पत्नी सतीदेवीको वर्णन गरिएको छ ।
आफ्ना पति महादेव प्रति आफ्नै पिताले गरेको दुर्बचन सहन नसकेर सतीदेवीले होमको लागी बनाइएको कुण्डमा हाम फालेर आफ्नो जीवन अर्पित गर्दछन् । र महादेव शोकले व्याकुल भएर सतीदेवीको शरीर बोकेर भतारिन्छन् । यही क्रममा गलेर अं पतन हुँदा हरेक अं पतन भएको स्थानमा पीठ स्थापना गरिएको वर्णन गरिएको छ । यही नै सती शब्दको सुरुवात हो ।
सती जान इच्छुक हुने महिला भन्दा बढी सती जान बाध्य बनाइएका घटना धेरै पढ्न पाइन्छ । धर्मका नाममा तथा सतित्वको नाममा पनि सती जान मानसिक रूपले बाध्य बनाइन्थ्यो । विधवा विवाहका केही घटनाहरूका कारणले पनि समाजका धर्मान्धहरूले विधवालाई सती जान धार्मिक दबाब दिन थालेका थिए । सती जान नमान्नेहरूलाई करकापमा तथा जबरजस्ती पतिको चितामा राखिन्थ्यो । उनको चिच्याहट नसुनिउन् भनेर बाजा सहित सती जाने कार्यलाई उत्सव झैँ गराइन्थ्यो । चिताबाट भाग्न खोजे ढुङ्गाले हानेर वा बाँसका भाटाले हिर्काएर बेहोस बनाएर पनि चितामा जलाइन्थ्यो । यति क्रूर र अमानवीय धार्मिक हत्या गरिन्थ्यो ।
पाँचौँ शताब्दीबाट नै सती जान बाध्य बनाइएको भनिए तापनि यसको सबैभन्दा बढी घटना अठारौँ शताब्दीमा भेटिन्छ । साधारण परिवारमा भन्दा बढी राजपरिवारमा तथा सभ्रान्त परिवारमा देखिन्थ्यो । ब्राह्मण नेवार परिवारमा झन् सबैभन्दा न्यून सतीका घटनाहरू भेटिने गर्दछ ।
नेपालमा सती प्रथामा बन्देजको सुरुवात जङबहादुरले १९१० पुस २३ गते बिहीबार जारी गरेको मुलुकी ऐनमा सती जान्याको सम्बन्धी महल नै लेखेका थिए । यस अर्थले सती प्रथाको उन्मुलन चन्द्रशमशेरले गरे तापनि सुरुवात भने जङबहादुरले नै गरेका थिए । यस पछि वि.सं. १९४४ असार २२ गते सोमवार वीरशम्शेरले सती प्रथा उन्मुलन गर्ने १९४४ को इस्तिहारमा सती जानको लागी सरकारसँग अनुमति लिनु पर्ने अन्यथा सजायको भागीदार हुने उल्लेख गरेका थिए । यसपछि बल्ल वि.सं. १९७७ असार २५ गते चन्द्रशमशेरले सती जान पूर्णरुपमा बन्देज नै लगाइ दिए ।
सती प्रथा उन्मुलनको सय वर्ष नाघिसकेको अवस्थामा पनि अझै सती प्रथाको निशानीको रूपमा सती द्वार तथा सती ढुङ्गाले अझै पनि सती प्रथाको यादहरू दिलाइरहने गर्दछ ।
जङबहादुरले मुलुकी ऐनमा सतीजान्याको महल नै राखेको भए तापनि उनको १९३३ फागुन १६ गते आइतबार पत्थरघट्टामा निधन भएपछि फागुन १९ गते बुधवार उनको अन्त्येष्टि गरिँदा उनको साथमा उनका तीनजना रानीहरू पुतली महारानी , मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए ।

प्रतिक्रिया