‘विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ’

नेपालखोज २०८२ असार ३२ गते १५:३०

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।

आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताए । सात वटै प्रदेशमा आपत्कालीन गोदामघरहरू रहेको बताउँदै उनले ती गोदामघर सञ्चालन प्रदेश सरकारले गर्नेगरी हस्तान्तरण गरिएको जानकारी दिए ।

नागरिकसँगको सबैभन्दा नजिक स्थानीय जनप्रतिनिधि रहने भएकाले आपत्कालीन गोदामघरहरू पालिकास्तरमा स्थापना गरेर तल्लो तहसम्म विपद् व्यवस्थापनका लागि सक्षम बनाउनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए । उनले विपद् पूर्वसूचना र विपद् पछिको खोज, उद्धार तथा पुनःस्थापनामा सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताए ।

विगतमा विपद्का बेला गोदामघरबाट सामग्री उपयोग गर्दाको झन्झटिलो प्रक्रियालाई सहज पार्दै गोदामघर प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया