वीरगञ्ज महानगरमा ट्याङ्करमार्फत खानेपानी वितरण गरिने

नेपालखोज २०८२ असार ३२ गते १८:१४

वीरगञ्ज (पर्सा) । जिल्ला विपद् व्यवस्थापन समितिले मधेश सरकार र अन्य निकायबाट प्राप्त ट्याङ्कर प्रयोग गरी वीरगञ्ज महानगरसहित यहाँका विभिन्न स्थानीय तहमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ ।

ट्याङ्कर र दमकलबाट नेपाली सेनामार्फत पानी वितरण गर्ने निर्णय समितिले गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजङ्ग गणले खानेपानीको चर्को अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्ने जानकारी दिए ।

वितरणका लागि आवश्यक पानी उपलब्ध गराउन खानेपानी संस्थानलाई अनुरोध गरिएको छ । बैठकले दीर्घकालीन समाधानका लागि सङ्घीय तथा प्रदेशका सम्बन्धित निकायमा पहलकदमी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल टेलिकमले खानेपानीको अभाव भएका जनताका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने जनाएको छ ।

खानेपानी संस्थानका शाखा प्रमुख प्रवीणकुमार साहले संस्थानले दैनिक ८० लाख लिटर बढी खानेपानी उत्पादन गरेपनि वितरण प्रणाली बजेट अभावका कारण व्यवस्थित हुन नसकेको बताए ।

वीरगञ्ज महानगर–२८ का वडाध्यक्ष सरयुग महतो धनुकले आफ्नो वडामा वीरगञ्ज महानगर र खानेपानी मन्त्रालयले एउटा पनि डिप बोरिङ नगरेको गुनासो गरे । वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो वडामा पनि खानेपानीको चर्को अभाव भएकाले ट्याङ्करमार्फत खानेपानी वितरण गर्न जरुरी रहेको बताए ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र प्रमुख अवधेशकुमार दुबेले प्राधिकरणबाट ग्राहक बनेर मात्रै डिपबोरिङबाट खानेपानी वितरण गर्न सम्बन्धित निकायलाई आह्वान गरे । -रासस

प्रतिक्रिया