कृष्णपुरद्वारा निःशुल्क शव बाहन सेवा सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ । नगरवासीलाई आर्थिक तथा व्यवस्थापकीय सहजता पुर्याउने उद्देश्यले शव वाहन सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख हेमराज ओझाले बताए ।
नगरबासीलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिनु हुदै नगर प्रमुख ओझाले छिमेकी पालिकाका बासिन्दालाई पनि सो सेवा निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाईएको बताए । शव बाहन अभावमा नागरिकले निजी गाडीमा शव लैजानुपर्ने बाध्यता हटाउने उद्देश्यले यो सेवा सुरु गरिएका छौं उनले भने, नगरको सामाजिक उत्तरदायित्वअनुसार जनताको दुःखमा साथ दिने हाम्रो प्रयास हो ।
निःशुल्क शव वाहन सेवाको सञ्चालनसँगै नागरिकले नगर कार्यालय संगै सम्बन्धित वडाबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । चालकसंग सम्पर्क गरेर पनि सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको नगरपालिकाको वडा नं २ का वडा सदस्य अर्जुन बहादुर साउदले बताए । उनका अनुसार नगरपालिकाले यसअघि एम्बुलेन्स सेवा, स्वास्थ्य शिविर, विपन्न लक्षित कार्यक्रम जस्ता सामाजिक पहलहरू सञ्चालन गर्दै आएको छ । शववाहन सेवा थपिएसँगै नगरपालिकाले नागरिकमैत्री सेवा विस्तारमा नयाँ उदाहरण प्रस्तुत गरेको उनको भनाइ रहेको छ ।
स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणले नगरपालिकाको यो कदमलाई स्वागत गर्दै दुःखद घडीमा राहतको महसुस हुने प्रतिक्रिया दिएका छन । शव बाहन नगरपालिकाको आन्तरिक आय २६ लाखमा खरिद गरिएको बताइएको छ ।

प्रतिक्रिया