धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन

नेपालखोज २०८२ साउन १ गते १३:०५

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले यहाँस्थित कृषि ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको हो ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरण गर्दै किसानलाई वातावरण अनुकूल उत्पादनमा केन्द्रित बनाउँदै उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताए । उनका अनुसार सिर्जनशील कृषक समूहमा आवद्ध २२ परिवार कृषकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रविधिबाट खेती गर्न थालेका छन् ।

कार्यक्रमको ९० प्रतिशत अनुदानमा चार वटा सुधारिएको भकारो निर्माण, सिँचाइका लागि चार हजार मिटर पाइप, पानी सङ्कलन गर्ने नौ वटा ड्रम, दुई वटा प्लास्टिकका टनेल र एउटा थोपा सिँचाइ प्रविधि जडान भएको समूहका अध्यक्ष प्रकाश खत्रीले जानकारी दिए । जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रूपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको प्रमुख बास्तोलाले जानकारी दिए ।

साथै सामाजिक र आर्थिक रूपमा पछाडि परेका, भौगोलिक विकटता, खाद्य सुरक्षाको जोखिममा रहेका चार स्थानमा ‘ग्रामीण पोषण सुरक्षण’ कार्यक्रम सञ्चालन भएको छ । धवलागिरि-बगर, मालिका गाउँपालिका-४ ओखरबोट, रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गले र अन्नपूर्ण गाउँपालिका-८ राम्चेमा उक्त कार्यक्रम लागू भएको केन्द्रका प्रमुख बास्तोलाले जानकारी दिए । उनका अनुसा कार्यक्रममार्फत एक सय भन्दाबढी कृषक लाभान्वित भएका छन् ।

केन्द्रको पाँच/पाँच लाख रूपैयाँ अनुदानमा कृषक समूह र सहकारी संस्थाले तरकारी खेती, कुखुरापालन, सिँचाइ पूर्वाधार निर्माण, प्लास्टिक घर निर्माण, मौरीपालनका लागि सहयोग गरेका छन् । घरायसी उपभोगका लागि आवश्यक पर्ने पौष्टिक तत्वयुक्त आहारा आपूर्ति सहज बनाई उपभोग वृद्धि र पोषणको अवस्था सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको बास्तोलाले बताए ।

प्रतिक्रिया