कृषि क्षेत्रमा बैंकहरुले बढाए कर्जा, सात वटै प्रदेशमा प्रवाह कर्जा रकम तीन खर्ब ४१ अर्ब नाघ्यो

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले कृषि क्षेत्रमा कर्जा बढाएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन (एकीकृत) अर्ध–वार्षिक प्रतिवेदन अनुसार क्षेत्रगत कृषि कर्जा २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा तीन दशमलव ३४ प्रतिशतले बढेर तीन खर्ब ४१ अर्ब ६० करोड पुगेको हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव ११ प्रतिशतले घटेकोे थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६९ अर्ब ३६ करोड कर्जा पशुपालन शीर्षकमा प्रवाह भएको छ भने सबैभन्दा कम सुर्तीमा २४ करोड १४ लाख रुपैयाँ प्रवाह भएको छ ।
कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशकोे अंश १६ दशमलव ६६ प्रतिशत, मधेश प्रदेशको अंश १८ दशमलव ९२ प्रतिशत, बागमती प्रदेशको अंश ३५ दशमलव १६ प्रतिशत, गण्डकी प्रदेशको अंश सात दशमलव ६२ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १५ दशमलव ३४ प्रतिशत, कर्णाली प्रदेशको अंश एक दशमलव५१ प्रतिशत र सुदूर पश्चिम प्रदेशको अंश चार दशमलव ७९ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार क्षेत्रगत औद्योगिक कर्जा पनि २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा १७ दशमलव ६६ प्रतिशतले वृद्धि भई १६ खर्र्ब ४६ अर्ब ७० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव १९ प्रतिशतले बढेको थियो ।
कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३० दशमलव ३१ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा शुन्य दशमलव ७० प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २० दशमलव ८१ प्रतिशत, गैर-खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३७ दशमलव ९६ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ११ दशमलव ५६ प्रतिशत, विद्युत ग्यास तथा पानीसम्बन्धी उद्योगमा २४ दशमलव ६३ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा चार दशमलव३४ प्रतिशत कर्जा प्रवाह भएको छ ।
२०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा कोशी प्रदेशमा १३दशमलव५९ प्रतिशत, मधेश प्रदेशमा १० दशमलव ९७ प्रतिशत, बागमती प्रदेशमा २१ दशमलव ११ प्रतिशत, लुम्बिनी प्रदेशमा नौं दशमलव ३४ प्रतिशत, कर्णाली प्रदेशमा १४ दशमलव ९५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा शुन्य दशमलव १४ प्रतिशतले वृद्धि भएको छ भने गण्डकी प्रदेशमा प्रवाह भएको औद्योगिक कर्जा दुई दशमलव २६ प्रतिशतले घटेको छ ।
सम्बन्धित प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट भएको लगानीका आधारमा औद्योेगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ११ खर्ब ७९ अर्ब छ करोड अर्थात ७१ दशमलव ६० प्रतिशतकर्जा लगानी रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम तीन अर्ब ७९ करोड कर्जा अर्थात शुन्य दशमलव २३ प्रतिशतलगानी रहेको प्रतिवेदनमा उल्लेख छ । औद्योेगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा आठ दशमलव ९६ प्रतिशत, मधेश प्रदेशको हिस्सा सात दशमलव ६० प्रतिशत, बागमती प्रदेशको हिस्सा ७१ दशमलव ६० प्रतिशत, गण्डकी प्रदेशको हिस्सा एक दशमलव ७४ प्रतिशत, लुम्बिनी प्रदेशको हिस्सा आठ दशमलव ३४ प्रतिशत, कर्णाली प्रदेशको हिस्सा शुन्य दशमलव २३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा प्रवाहित कर्जाको हिस्सा एक दशमलव ५३ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार वित्तीय सेवा २०८१ पुस मसान्तसम्ममा वाणिज्य बैंकका पाँच हजार ७८, विकास बैंकका एक हजार १३२, फाइनान्स कम्पनीका २९१, लघुवित्त वित्तीय संस्थाका पाँच हजार ४४ गरी जम्मा ११ हजार पाँच सय ४५ शाखा सञ्चालनमा रहेका छन । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी तीन हजार ४१ शाखाहरु तथा कर्णाली प्रदेशमा सबैभन्दा कम चार सय ७७ शाखाहरु सञ्चालनमा रहेका छन । प्रतिवेदन अनुसार २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८० पुस मसान्तको तुलनामा नौं दशमलव तीन प्रतिशतले बढेर ६६ खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १४दशमलव८३ प्रतिशतले बढेर ६१ खर्ब २९ अर्ब ३१ करोड पुगेकोे थियो । २०८० पुस मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०८१ पुस मसान्तमा १५दशमलव९८ प्रतिशतले बढेर ५४ खर्ब ३२ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जामा दुई दशमलव ७० प्रतिशतले घटेर ४६ खर्ब ८३ अर्ब ६८ करोड पुगेको थियो । २०८१ पुस मसान्तमा कुल कर्जा र कुल निक्षेप अनुपात ८१दशमलव२९ प्रतिशत रहेकोमा २०८० पुस मसान्तमा ७६दशमलव४१ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुुसार २०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६६ दशमलव ९६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको एक दशमलव११ प्रतिशत रहेको छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको सबैभन्दा बढी कर्जा बागमती प्रदेशमा ५९ दशमलव ३० प्रतिशत प्रवाह भएको छ भने सबभन्दा कम कर्जा कर्णाली प्रदेशमा एक दशमलव शुन्य नौं प्रतिशत प्रवाह भएको छ ।

प्रतिक्रिया