यातायातमन्त्री दाहालसँग चीनका राजदूत सङको शिष्टाचार भेट

नेपालखोज २०८२ साउन १ गते १७:१४

काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् ।

आज मन्त्रालयमा भएको सो भेटमा बाढीले क्षतिग्रस्त स्याफ्रुबेँसी-रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुन:निर्माणमा चीनले चासो देखाएको छ । चीनले सीमापुल भएको स्थानमा जतिसक्दो छिटो अस्थायी पुल बनाउने प्रतिबद्धता जनाएको छ ।

यसैगरी चीन सरकारको सहयोगमा सञ्चालित अन्य आयोजना टोखा-छहरे सुरुङ्मार्ग, हिल्सा-सिमिकोट सडक, खाँदबारी-किमाथाङ्का सडकलगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत सङले काठमाडौँ-चक्रपथ दोस्रो खण्ड विस्तार सुरु गर्ने बताए ।

भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वाससमेत मन्त्री दाहालले व्यक्त गरे ।

प्रतिक्रिया