‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि साढे ४६ अर्व अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको छ’

नेपालखोज २०८२ साउन १ गते २०:१६

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि साढे ४६ अर्व अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरबारमा आफ्नो कार्यकाल एक वर्षमा गरेको कामको विवरण सार्वजनिक गर्दै मन्त्री खड्काले ऊर्जा विकास मार्गचित्र अनुसार सन् २०३५ सम्मको २८ हजार ५ सय मेगावाट विधुत उत्पादन लक्ष्य पुरा गर्नका लागि साढे ४६ अर्व अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको जानकारी दिए ।

वर्तमान सरकारको एक वर्षको अवधिमा ४०९ मेगावाट जलविद्युत आयोजना तथा २५ मेगावाटको सौर्य आयोजना गरी कुल ४३४ मेगावाट क्षमता बराबरको ग्रिडमा आवद्ध भएको उनले बताए ।

मन्त्री खड्काले एक वर्षको अवधिमा विद्युत विकास विभागबाट १ हजार ९५ मेगावाटक्षमता बराबरका ८० जलविद्युत आयोजनाहरु र १ हजार १ सय ९९ मेगावाटक्षमता बराबरका ६७ सौर्य आयोजनाहरुको सर्वेक्षण अनुमति जारी गरिएको जानकारी दिए ।

वर्तमान सरकारको कार्यकालमा ३ सय सर्किट किलोमिटर प्रसारण लाइन तथा ७ सय एमभीए क्षमताका सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्री खड्काको भनाइ छ ।

आर्थिक बर्ष २०८१/८२ मा करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरिएको र करिब १६ दशमव ९ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गरिएको मन्त्रालयले जनाएको छ ।

एक वर्षको अवधिमा १७ हजार ३०८ हेक्टर जमिनमा सिंचाइ पूर्वाधार विकास भएको र हाल सम्म १५ लाख ८६ हजार ३४० हेक्टर जमिनमा सिंचाइ पूर्वाधार विकास भएको मन्त्री खड्काले बताए ।

प्रतिक्रिया