कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान

नेपालखोज २०८२ साउन २ गते १२:५३

वालिङ (स्याङ्जा) । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा अनुदान दिएको छ । उत्पादनका आधारमा कृषकलाई प्रोत्साहित गर्न कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेर मापदण्ड पूरा गरेका समूह, सहकारीलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराएको हो ।

उत्पादनमा आधारित प्रोत्साहन सहयोगअन्तर्गत मापदण्डअनुसार दैनिक २०० लिटर दूध सङ्कलन गर्ने र वार्षिक २०० दिन दूधको कारोबार गर्ने समूह सहकारीलाई छनोट गरी सहयोग दिइएको भेटेरिनरी तथा पशु विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रुपेश श्रेष्ठले जानकारी दिए । कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख लिटर दूधका लागि पाँचका दरले १० लाख प्रोत्साहनस्वरुप सहयोग गरेको उनले बताए ।

प्रोत्साहन रकम वितरणसम्बन्धी कार्यालयले मापदण्ड पूरा गरेका समूह तथा सहकारीबाट आवेदन माग गरेको थियो । त्यसमा तीन वटा समूह र सहकारीले आवेदन दिए पनि मापदण्डका आधारमा दुई वटालाई छनोट गरी प्रोत्साहन रकम उपलब्ध गराइएको उनले बताए । कार्यालयले भिरकोट नगरपालिकामा अवस्थित भिरकोट दुग्ध उत्पादन सहकारी र आँधीखोला गाउँपालिकामा अवस्थित आँधीखोला कृषि उद्यम सहकारी संस्थामा आबद्ध कृषकलाई प्रोत्साहन उपलब्ध गराएको हो ।

प्रोत्साहन रकम दुई चरणमा गरी उपलब्ध गराएका हौँ, प्रमुख श्रेष्ठले भने, कृषकलाई अन्य सहयोग तथा अनुदानका कार्यक्रमभन्दा उत्पादनका आधारमा दिइने प्रोत्साहन रकम बढी प्रभावकारी हुने गरेको पाएका छौँ । भिरकोट दुग्ध उत्पादक सहकारी संस्थाले कूल रु छ लाख ५० हजार ६५० प्राप्त गरेको छ । सहकारीले एक लाख ३० हजार १३० लिटर दूधका लागि उक्त रकम प्राप्त गरेको हो ।

आँधीखोला कृषिउद्यम सहकारी संस्थाले ६९ हजार ७२० लिटर दूध सङ्कलन गरेको थियो । सङ्कलित उक्त परिमाणको दूधमा रु पाँचका दरले तीन लाख ४८ हजार ६०० प्रोत्साहन रकम प्रदान गरिएको उनले बताए । दुई वटा सहकारीले तोकिएको मापदण्डअनुसार दूध उत्पादन तथा सङ्कलन गरेका हुन् । सङ्कलन भएको दूधको प्रतिलिटर रु पाँचका दरले नौ लाख ९९ हजार २५० प्रोत्साहन सहयोग गरेको हो ।

प्रोत्साहन सहयोगले उत्पादनमा वृद्धि हुँदै गएकाले प्रोत्साहन सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ । कार्यालयले भकारो सुधार, नयाँ गोठ निर्माण, मिल्क एनालाइजरलगायत यन्त्र तथा उपकरण पनि कृषकलाई अनुदानमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया